बिहानदेखि काममा जाँगर बढ्नेछ। मनमा आएको राम्रो सोचलाई अघि बढाउने दिन छ। कसैको मिठो बोलीले मन प्रफुल्ल बन्न सक्छ। सानो प्रयासले पनि राम्रो नतिजा देखिन थाल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

गणेश चतुर्थी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
:: श्री गणेशाय नम ::
शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।
"सृष्टिको रक्षा गर्ने भगवान विष्णुलाई म प्रणाम गर्दछु, जो प्रशान्त हुनुहुन्छ, जो दिव्य सर्पमा विराजमान हुनुहुन्छ, जसको नाभिबाट सृष्टिको शक्तिले कमल उत्पन्न हुन्छ, जो परमात्मा हुनुहुन्छ, जसले सम्पूर्ण ब्रह्माण्डलाई धारण गर्नुहुन्छ, जो परमात्मा हुनुहुन्छ। आकाश जस्तै सर्वव्यापी, जो बादल जस्तै कालो छ र भव्य रूप छ। लक्ष्मीका स्वामी, कमल नेत्र भएका, जो योगीहरूले ध्यानद्वारा बुझ्छन्, म तिमीलाई नमस्कार गर्दछु, लौकिक अस्तित्वको भय हटाउने र जो सबै जगतका स्वामी हुनुहुन्छ।"

के तपाईं कुनै शुभ कार्य गर्नुअघि भगवान गणेशलाई सम्झनुहुन्छ ?
भगवान् श्री गणेशको जन्मदिन
आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्री गणेशको जन्मदिन । हिजो तृतीया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमुर्तिको जन्मदिन । कसै कसैले आजको दिनलाई विनायक चतुर्थी पनि भन्दछन् । गणेश भनौँ या विनायक भनौँ या गजा धर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान् गणेश कै हो ।
हिन्दुधर्मावलम्वीहरु हरेक शुभ कार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा या नवीन चिन्तन सुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरू बिच एउटा चर्चित भनाई नै छ, "शुभ कार्यको श्री गणेश गर्ने" । यस दिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समय बजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।

गणेशको जन्म बारेको धारणा
१०८ वटा विभिन्न नाम भएका भगवान् गणेशलाई कला र साहित्यको भगवान् पनि मानिन्छ र उनको जन्मका बारेमा दुई खाले धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतिबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रूपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेट्न भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने चाल नपाएरै गणेशको शिर छेदन गरिदिए । स्नान पश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक बिलौना गरेपछि देवाधिदेव महादेव उत्तरतर्फ गई हात्तीको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख गरेको छ ।
अर्को किवंदन्तीका अनुसार देवताहरूको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्न हर्ताका रूपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थी नेपाल लगायत भारत, मरीसस, फिँजी लगायतका दक्षिण पूर्वी एसियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थीमा सुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान् गणेशको प्रतिमा स्थापित गरी रङ्गिन पण्डालहरु लगाएर ४ चरणमा पूजा गरिन्छ । प्राण प्रतिष्ठा अर्थात् भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात् सोह्र तरिकाले भगवान् गणेशको अनुष्ठान गर्ने, उत्तर पूजा अर्थात् प्रतिमालाई एक ठाउँबाट अर्को ठाउँ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात् प्रतिमालाई नदी, खोला अथवा सफा जलाशयमा मा विसर्जन गर्ने क्रमहरू हुन्छन् । यसरी सुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारिक रूपमा खोलामा विसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।


चथाः पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेवार समुदायले भाद्र शुक्ल चतुर्थीका दिन चथाः पूजा मनाउँछन्। यस दिन राति चन्द्रमा नहेरी पूजा गर्ने परम्परा छ, जसको पछाडि गणेश र चन्द्रमासम्बन्धी किंवदन्ती जोडिएको छ। नेवारहरूको मान्यता अनुसार यो दिन गणेशको जन्मदिवस पनि हो, र यस दिन गरिएको पूजा चन्द्र दोष, चोरी दोषबाट मुक्त गराउने विश्वास गरिन्छ। पूजा सामान्यतया घरपरिवारमा मात्र (चखः) मनाइन्छ र चन्द्रमा, गणेश तथा चोर देवता (खूः द्यः/इन्द्र) लाई पूजा गर्ने परम्परा छ। पूजा विशेष सामग्रीहरू—कर्कलो/कमलको पातमा नौ प्रकारका गेडागुडी, फलफूल, करवीर, मोहनी फूल आदि—सहित गरिन्छ। यस दिन "हलिमलि" अर्थात गेडागुडी भुटेर खाने परम्परा पनि छ। यस दिनको मौसमकै आधारमा दशैंको मौसमको भविष्यवाणी गर्ने चलन पनि छ।
महत्वपूर्ण बुँदाहरू
किंवदन्ती:
-चन्द्रमाले गणेशलाई खिसी गर्दा गणेशले श्राप दिए → यस दिन चन्द्रमा हेर्दा चोरीको दोष लाग्छ।
-श्रीकृष्णलाई पनि यसै दिन चन्द्रमा हेरेर स्यमन्तक मणि चोरीको आरोप लागेको कथा।
-देवराज इन्द्रलाई "खूः द्यः" (चोर देवता) मान्ने र उनलाई पनि पूजा गर्ने परम्परा।
पूजामा चढाइने सामग्री: करवीर फूल, मोहनी फूल, लक्ष्मीस्वाः फूल, कमलको पातमा नौ प्रकारका गेडागुडी (मकै, भटमास, केराउ, गहुँ, राजमा, आरुका बियाँ आदि)।
-चथाःमा पानी परे दशैंमा पनि पानी पर्छ, सफा भए दशैंमा पनि सफा हुन्छ।
-कुकुर भुकेपछि मात्र पूजा सुरु गर्ने परम्परा (चोर आएको सङ्केत)।
यसरी छोटकरीमा हेर्दा, चथाः नेवार संस्कृतिमा धार्मिक आस्था, परिवारिक जमघट, चन्द्र दोषबाट मुक्तिको पूजा र मौसम संकेत गर्ने महत्वपूर्ण पर्वका रूपमा स्थापित छ।


राष्ट्रिय धर्म सभा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
राष्ट्रिय धर्म सभा दिवस को पृष्ठभूमि
विसं। २०६६ बाट नेपालभर राष्ट्रिय धर्म सभा दिवस मनाउने चलन छ । आजभन्दा करिब १०० वर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौँ जति बेला चन्द्रशमशेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधुनिक इतिहासमा बि।सं। १९६१ मा प्रथम पटक धर्म सभा भएको पाइन्छ जब चन्द्रशमशेरले सम्पूर्ण विद्वान अनि पण्डितहरूलाई निम्तो दिएर एक हप्ता लामो धर्म सभाको आयोजन गरेका थिए । त्यस धर्म सभा पछि नै नेपालको आधिकारिक र औपचारिक सम्वत विक्रम सम्वत भएको हो ।
आधुनिक नेपालमा धर्म सभाको थालनी हुनुको कारण
आधुनिक समयमा भने धर्म सभाको सुरुवातको पृष्ठभूमि फरक छ ।
विसं २०६६ सालमा तत्कालीन नेपाल सरकारले ३ वटा संवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारिक सम्वतलाई ई सं बनाएर केवल ११ महिनाको एक वर्ष बनाउने सरकारी कदम थियो यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहित राख्ने निर्णय पनि त्यतीबेलाकै रहेको थियो।
विक्रम सम्वत आफैमा नेपाल सम्वत र ई।सं। दुबैका बहुल गुणहरू सहित वैज्ञानिक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात् नेपाली परम्पराको रक्षार्थ औपचारिक रूपमा धर्म सभा को दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थीका दिन हरेक वर्ष राष्ट्रिय धर्म सभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराईले हाम्रो पात्रोलाई बताउनुभयो ।
सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो र धर्मसभा मार्फत् सम्पूर्ण धर्म, समुदाय अनि परम्पराहरूको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ साथै राष्ट्रिय धर्म सभा नेपाल एउटा सस्थांका रुपमा नेपाली जनको धर्म अनि वैदिक सनातन संस्कार मात्र नभई सम्पूर्ण नेपालीका पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ ।
यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतिको रक्षार्थ धर्म सभाले पञ्चागं निर्णायक समितिसँग पनि नजिकै रहेर कार्य गर्ने, हरेक वर्षका पात्रोहरूमा समावेशी चाड अनि तिथिहरू समावेश गराउने सम्मका कार्यहरूको पनि पहरेदार गर्दछ । हरेक वर्ष धर्म सभा समितिले पण्डित सम्मेलन गर्दै तिथीमिती अनि चाडपर्व लगायतमा कुरा अनि नियमहरूको रक्षा र संवर्द्धन गर्ने कार्य गरेको छ ।
यस वर्षको धर्म सभा दिवसले आगामी वर्षहरूमा पनि नेपाली जनको पहिचान, आस्था, परम्परा र रीतिलाई जोगाउने कुरामा अग्रगामी कदम चालोस् । नेपाली जनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूमा धर्म सभा दिवसको शुभकामना व्यक्त गर्दछ ।