चौँतिस वर्षको प्रतीक्षापछि बन्यो झोलुङ्गे पुल
gorkhapatraonline.com · Sat May 23 04:00:31 GMT 2026

चौँतिस वर्षको प्रतीक्षापछि मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिँढाली बजारसँग जोड्ने रतुवाखोलामा झोलुङ्गे पुल बनेको छ ।
मिर्चाडाँगी र पिँढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका थिए । वारिपारिका दुई गाउँ जोड्ने झोलुङ्गे पुल नहुँदा पुलपारिका बासिन्दा वर्षायाममा भारत हुँदै वडा र नगरपालिका कार्यालय आउने जाने गर्थे । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ निर्माण गर्न थानी निर्माण सेवालाई ठेक्का दिएको थियो । ७४७ मिटर लम्बाइको झोलुङ्गे पुल भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६६२ रुपियाँमा निर्माण सम्पन्न भएको हो । सम्झौता अनुसार दुई वर्षमा पुल निर्माण गरिसक्नुपर्ने थियो । २०८२ असार ११ गते भएको सम्झौतामा २०८४ असार १० गते निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि करिब १३ महिनाअगावै निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)