सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पुर्याउने गरी भिडियो सामग्री प्रसारण गर्ने काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई प्रहरीले पक्राउ गरेको छ। बैतडीको सुर्नया गाउँपालिका–७ का वीरेन्द्रलाई साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो। उनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने आशयका भिडियो सामग्री बनाएर फेसबुक रिलमा अपलोड गरेका थिए।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र भ्रामक समाचार प्रसारण गर्नेहरूविरुद्ध प्रहरीले कारबाहीलाई आक्रामक रूपमा अगाडि बढाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले संवेदनशील घडीमा पीडामा रहेका नागरिकलाई थप पीडा दिने गतिविधि गर्नेहरूको निगरानी गरी त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको बताए। बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको यस दुःखद् अवस्थामा हृदयविदारक एवं विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा त्रास फैलाउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भएको उनले प्रष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)