बदलिएको राजनीतिक परिदृश्य
gorkhapatraonline.com · Tue Sep 08 02:48:07 GMT 2026

आज भदौ २३ अर्थात् ‘जेनजी सहिद दिवस’ । नेपाल सरकार मन्त्रीपरिषद्को २०८३ भदौ १८ गतेको निर्णय अनुसार आजको दिनलाई परिवर्तनको नवबिहान सम्झिँदै देशभर सार्वजनिक बिदा दिइएको छ । ठिक एक वर्षअघि आजकै दिन माइतीघर, बबरमहल र नयाँ बानेश्वरको संसद् भवनअगाडि नवयुवा (जेनजी) हरूको आवाज गुन्जियो । उनीहरूको हातमा कुनै सत्ता खोस्ने हतियार थिएन, न त मनमा राजनीतिक महत्वाकाङ्क्षा नै । ती कलिला युवाको चित्कार केवल व्याप्त भ्रष्टाचार, थिचोमिचो र बेथितिविरुद्धको थियो ।
राज्यका हरेक संयन्त्रमा मौलाएको दलीय भागबन्डा, क्षमतावान् युवालाई पाखा लगाउने, राजनीतिक हस्तक्षेप र नागरिकलाई आधारभूत सेवा लिन पनि बिचौलियाको शरण पर्नुपर्ने कहालीलाग्दो बाध्यताले उनीहरूको धैर्यको बाँध भत्काएको थियो । ठुलठुला भ्रष्टाचारका काण्डमा राजनीतिक नेतृत्वको संरक्षण देख्दा निराशामा परेको नयाँ पुस्ताले आफ्नो भविष्यको रक्षाका लागि त्यो शान्तिपूर्ण विद्रोहको बाटो रोजेको थियो । आफ्नो उज्यालो भविष्य र देशको मुहार फेर्न अमूल्य जीवन आहुति दिने ती वीर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली ! उनीहरूले बालेको परिवर्तनको यो दीपले नेपाली शासनव्यवस्थालाई सदैव पारदर्शी, निष्पक्ष र जनउत्तरदायी बनाउन प्रेरणा दिइरहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सुशीला कार्की
प्रतिनिधि सभा