घर भत्किएपछि पीडित परिवारलाई सुरक्षित स्थानमा सारियो
gorkhapatraonline.com · Tue Sep 08 04:34:30 GMT 2026

आइतबार दिउँसोदेखि लगातार आएको अविरल वर्षाका कारण नारायण नगरपालिका–१ कुइकानामा एक घर भत्केर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । नारायण नगरपालिका–१ स्थित कुइकाना रातामाटाका खड्के नेपालीको दुईतले माटोले बनेको घर भत्किएको हो । घर भत्किएपछि नेपालीको १६ जनाको परिवारलाई शिरिस्थान महिला सामुदायिक वन समितिको भवनमा स्थान्तारण गरिएको नारायण नगरपालिकाले जनाएको छ । लगातारको वर्षाका कारण घर जोखिममा परेपछि परिवारका सदस्यलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नगरपालिकाले जनाएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँका अनुसार विपन्न समुदायलाई विपत् शाखामार्फत सहयोग गरिने छ ।
नगरप्रमुख शर्मा भन्नुभयो, “घर भत्किएपछि नेपाली परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ । जोखिममा रहेका अन्य ठाउँको बस्तीका परिवारको सहयोग तथा अनुगमन भइरहेको छ । आवश्यक राहत तथा व्यवस्थापनका लागि नगरपालिकाले सक्दो सहयोग गर्छ ।” नगरपालिकाले वर्षाका कारण जोखिममा रहेका बस्ती तथा घरधुरीको पहिचान गरी सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)