काभामा नेपालको पहिलो जित
gorkhapatraonline.com · Sun May 24 02:19:53 GMT 2026
काठमाडौँ, जेठ १० गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप नेपालले पहिलो जित दर्ता गर्दै सेमिफाइनलनजिक पुगेको छ । समूह ‘ए’ को खेलमा नेपालले शनिबार कीर्गिस्तानलाई सोझो सेटमा जित हासिल ग-यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा भएको खेलमा घरेलु टिमले २५–१८, २५–२०, २५–१३ ले कीर्गिस्तानलाई पराजित गरेको हो । पहिलो सेटदेखि नै दबाब बनाएको नेपालका लागि सुमित्रा रेग्मी स्पाइक र ब्लक तारिफ योग्य थियो । तीनै सेटमा सानदार प्रदर्शन गर्ने सुमित्रा प्लेयर अफ दी म्याच पनि घोषित हुनुभयो । नेपाल दुई खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ । जसले नेपालको सेमिफाइनल सम्भावना बलियो भयो । नेपालले पहिलो खेलमा भारतसँग ३–२ ले पराजित हुँदा एक अङ्क जोडेको थियो । कीर्गिस्तानको यो पहिलो हार हो । पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराएको कीर्गिस्तानको दुई खेलबाट तीन अङ्क छ । अब नेपालले समूहको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्ने छ । नेपालले माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल पुग्ने छ । कीर्गिस्तानले सोमबार भारतको सामना गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)