लोक सेवाको साख
gorkhapatraonline.com · Wed Jun 17 01:54:57 GMT 2026

लोक सेवा आयोग विगत सात दशकदेखिकै विश्वसनीय र प्रतिष्ठित संवैधानिक निकाय हो । विगत, वर्तमान र भविष्यको समेत जनभरोसाको आधार बनेको यो संस्थाले स्थापनाकालदेखि निरन्तर प्रशासनिक संयन्त्रका लागि आवश्यक योग्य, दक्ष र सक्षम जनशक्ति निष्पक्ष रूपमा आपूर्ति गरी देशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
मुलुकमा सुशासन कायम गर्न सरकारका नीति, योजना र कार्यक्रम कार्यान्वयन गुणस्तरीय रूपमा हुनु अपरिहार्य हुन्छ । यसका लागि सरकारको प्रमुख कार्यकारिणी प्रशासनिक संयन्त्रलाई प्रभावकारी रूपमा क्रियाशील गराइराख्न जरुरी हुन्छ । लोक सेवा आयोगबाट नियमित आपूर्ति हुने गरेको योग्य, सक्षम र गुणस्तरीय जनशक्ति परिचालनले प्रशासनिक संयन्त्रलाई सरकारको बलियो र विश्वसनीय निकायका रूपमा स्थापित गरेको छ । आयोगले मुलुकको प्रशासनिक संयन्त्रलाई आवश्यक योग्य जनशक्ति नियमित आपूर्ति गर्न आफ्नो लामो र भरपर्दो अनुभव, बलिया र पारदर्शी कानुनी एवं विधिगत आधार, इमानदार र लगनशील कर्मचारीका साथै वैज्ञानिक र विश्वसनीय छनोट प्रक्रियालाई आधार बनाएको छ । आयोगले उम्मेदवार छनोटका लागि आधार बनाउने गरेका विद्यमान विधि एवं प्रक्रिया प्रणालीबद्ध र वैज्ञानिक भएका कारण व्यक्ति वा समूहको मनोगत प्रभाव शून्य छ । विगत सात दशकयता आयोगले आफूलाई जनता एवं सरकारको निष्पक्ष, विश्वसनीय र भरपर्दो संस्थाका रूपमा चिनाइराख्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)