स्थानीय चुनावका लागि पेट्रोलियम पदार्थ स्टकमा राख्दै आयल निगम, चुनावमा अभाव नहुने
bizmandu.com · Sat May 07 05:08:29 GMT 2022
काठमाडौं। नेपाल आयल निगमले स्थानीय चुनावका लागि सबै डिपोहरुमा पेट्रोलियम पदार्थ मौज्दात राख्न थालेको छ। स्थानीय तह चुनावको मतदान आगामी शुक्रबार हुँदैछ। निर्वाचन अवधिका लागि अभाव हुन नदिन पेट्रोलियम पदार्थ अभाव हुन नदिनका लागि 'स्टक' मा रहने निगमले जनाएको छ।
'निर्वाचनमा पेट्रोलियम पदार्थको खपत बढ्छ। हामी सबै डिपोहरुमा स्टक गर्दैछौं,' निगमका सह प्रवक्ता पुष्कर कार्कीले भने। हाल पेट्रोलियम पदार्थ दैनिक आयात भइरहेको छ। रक्सौल-अमलेखगन्ज पाइपलाइनबाट पनि आइरहेको छ।
चुनावको समयमा धेरै सवारीसाधन प्रयोग हुन्छ। त्यति बेला इन्धनको अभाव भयो भने झन समस्या हुन सक्छ। यसले गर्दा पूर्व तयारी सुरु गरेको कार्कीले बताए। 'चुनाव अघि ४८ घण्टासम्म सीमा बन्द हुने भएकाले अहिलेदेखि स्टक थालेको हो,' उनले भने, 'निगमसँग अहिले ७६ प्रतिशत पेट्रोलियम पदार्थको स्टक छ। पाइपलाइनमा रहेका बुलेटहरुसहित निगमको स्टक शतप्रतिशत हुनेछ।'
हाल निगमसँग ६ हजार ४ सय ५२ किलोलिटर पेट्रोल स्टकमा छ भने ३७ हजार २ सय किलोलिटर डिजल र १५ सय ५२ किलोलिटर मट्टितेल छ। अहिले दैनिक २ हजार किलोलिटर पेट्रोल र ५ हजार किलोलिटर डिजेलको खपत भइरहेको निगमले जनाएको छ।
निगममा छैन छुट्टी
सरकारले स्थानीय चुनावको लागि ५ दिन बिदा दिने निर्णय गरेको छ। तर निगमका कार्यालयहरु बिदा नहुने सहप्रवक्ता कार्कीले बताए। 'हामीले बिदा नलिइ काम गर्नुपर्छ,' उनले भने, 'थानकोट डिपो कुनै दिन पनि बन्द हुँदैन।'
निगमले समय अनुकूलताअनुसार सबै क्षेत्रका डिपोहरु सञ्चालन गर्ने तयारी गरेको छ। यसले गर्दा स्थानीय चुनावको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने कार्कीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)