पुलमा साइनबोर्ड राखेपछि विरोध
gorkhapatraonline.com · Wed Sep 09 03:05:32 GMT 2026

दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ भारतीय निर्माण व्यवसायीले राखेको साइनबोर्डको विषयलाई लिएर दार्चुलामा नागरिकस्तरबाट विरोध भइरहेको छ ।
कालापानीको भूमिका विषयमा लामो समयदेखि दुई देशबिच विवाद रहँदै आएको छ । दार्चुलाका नागरिकले नेपालको भूभागमा भारततर्फको ठेगाना राखेर साइनबोर्ड राखिएको भन्दै विरोध जनाएका हुन् । दुई देश जोड्ने नेपाल–भारत पुलको नेपालतर्फ महाकाली नगरपालिका–८, असिगडा क्षेत्र पर्छ भने भारततर्फ धारचुला तहसिल अन्तर्गतको छारछुम क्षेत्र पर्छ । नेपालस्थित पुलछेउमा नेपाल–भारत मैत्री सेतु लेखेर राखिएको साइनबोर्डको ठेगानामा काली नदी, छारछुम लेखिएको छ । यसै विषयलाई लिएर यहाँका राजनीतिक दल, पत्रकार तथा आमनागरिकले विरोध जनाउँदै यथाशीघ्र सच्याउनुपर्ने माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले नेपाली क्षेत्रमा राखिएको साइनबोर्डमा नेपालको ठेगाना लेखिनुपर्नेमा काली नदी, छारछुम भारतको ठेगाना लेखिएको विषयलाई गम्भीरताका साथ परराष्ट्र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय दार्चुलामा सच्याउन जानकारी गराएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)