जिराको महत्त्व
gorkhapatraonline.com · Wed Sep 09 05:33:04 GMT 2026

भाइबहिनीहरू, आमाले दाल झान्दा, तरकारी पकाउँदा वा अचार बनाउँदा जिरा प्रयोग गर्नुभएको पक्कै देख्नुभएको होला । सानो खैरो रङको यो दाना हाम्रो भान्साको निकै महत्त्वपूर्ण मसला हो । यसको सुगन्धले खानाको स्वाद बढाउँछ तर जिराको काम स्वाद बढाउनु मात्र होइन । यसभित्र स्वास्थ्यका लागि उपयोगी धेरै गुण लुकेका हुन्छन् ।
जिरा संसारभर प्रयोग हुने लोकप्रिय मसला हो । नेपालका विभिन्न ठाउँमा यसको खेती गरिन्छ । बारीमा मात्र नभई कौसीका गमलामा समेत जिरा सजिलै उमार्न सकिन्छ । सानो आकारको यो दाना हेर्दा सामान्य लागे पनि यसको महत्त्व भने निकै ठुलो छ । दाल, तरकारी, अचार वा मासुका परिकारमा जिरा अनिवार्य हाल्ने चलन हुन्छ । फुराउँदा वा झान्दा स्वाद र सुगन्ध दुवै बढ्छ । धेरै जसो मानिसले यसलाई मसला भनेर मात्र चिन्छन् । खाना खाएपछि पेट फुल्ने, अपच हुने वा ग्यासको समस्या हुनेहरूका लागि जिरा उपयोगी हुन सक्छ । यसले पाचन प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । त्यसैले पेट दुःख्दा वा खाना नपचेको बेला जिराको पानी पिउने चलन पनि छ । जिरामा शरीरलाई चाहिने विभिन्न पोसक तत्व पाइन्छन् । यसले शरीरको रोगसँग लड्ने क्षमता बढाउन सहयोग पुर्याउन सक्छ । स्वस्थ शरीरका लागि बलियो प्रतिरक्षा प्रणाली आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)