अशोक यादवलाई सर्लाही ल्याइयो, अनुसन्धानका लागि पाँच दिन म्याद थप
gorkhapatraonline.com · Wed Sep 09 13:03:10 GMT 2026

मधेश प्रदेशसभाका पूर्व सदस्य एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता अशोककुमार यादवलाई काठमाडौँमा पक्राउ गरी सर्लाही ल्याइएको छ । मङ्गलबार ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ परेका यादवलाई सर्लाही ल्याएर कारवाही अघि बढाइएको हो । यादव कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवका फरार प्रतिवादी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यादवविरुद्ध उक्त मुद्दामा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतले बुधबार पाँच दिन म्याद प्रदान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो । कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रव कसूरबाहेक यादवविरुद्ध गत जेठ २५ गते डिउटीमा रहेका प्रहरी कर्मचारीलाई कविलासी नगरपालिका–८, अगर्वामा कुटपिट गरी घाइते बनाएको र प्रहरीको मोटरसाइकलमा तोडफोड गरेको कसूरमा समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)