थोरैले घट्यो धानचामल आयात
gorkhapatraonline.com · Mon May 25 01:16:52 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा ३५ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाखसम्म ५१ अर्ब २५ करोड ८६ लाख ७५ हजार रुपियाँ बराबरको कुल खाद्यान्न (धान, चामल, मकै, गहुँ, कोदो, जौ) आयात हुँदा ३५ अर्ब ४५ करोड रुपियाँ बराबरको धानचामल आयात भएको हो । गत वर्षको सो अवधिमा ५२ अर्ब ६१ करोड ९० लाख रुपियाँको कुल खाद्यान्न आयात हुँदा ३५ अर्ब ५३ करोड रुपियाँको धानचामल आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा आठ करोड रुपियाँ बराबरको कम धानचामल आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार १० महिनामा १७ अर्ब ६५ करोड ४४ लाख ४१ हजार रुपियाँ बराबरको दुई लाख २७ हजार ४६६ मेट्रिक चामल र १७ अर्ब ८० करोड ६६ लाख १७ हजार रुपियाँ बराबरको चार लाख ५२ हजार मेट्रिक टन धान आयात भएको छ । चामलको तुलनामा १५ करोड रुपियाँ बराबरको धान बढी आयात भएको छ । धानको बिउका लागि समेत आयात हुने गर्छ । १७ अर्ब ८० करोड रुपियाँको धान आयात हुँदा १० अर्ब ५८ करोड ८४ लाख रुपियाँ बराबरको दुई लाख ४४ हजार ४६० मेट्रिक टन धान बिउका लागि आयात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)