बाढीपहिरोको जोखिम
gorkhapatraonline.com · Mon May 25 02:10:28 GMT 2026

नेपालमा मनसुनी वर्षा सुरु भएको छैन । बर्खा नलाग्दै पूर्वी नेपालका हिमाली र पहाडी जिल्लामा एक्कासि भीषण वर्षा हुँदा बाढीपहिरोले क्षति पु¥याएको छ । तमोर कोरिडोर सडक अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको मोटरेबल (मोटर गुड्ने) पुल बाढीले बगाएको छ । यो शुक्रबार राति र शनिबार बिहानको घटना हो । भारतसँगको सिमाना जोगबनीदेखि मोरङको रानी, विराटनगर हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला जोड्ने व्यापारिक सडकमार्गका रूपमा तमोर कोरिडोर रहेको छ । यस अन्तर्गत तमोर नदीमा आठ वर्षदेखि मोटरेबल पुल बनाउन थालिएको छ । अहिलेसम्म करिब ५० प्रतिशत निर्माण कार्य भइरहँदाको अवस्थामा बाढीले पुल बगाएको छ । त्यहाँ एक साताअघिदेखि पुलको ट्रस जडान भइरहेको थियो । एक्कासि आएको बाढीले जडान भएको पुलको ट्रस, निर्माणस्थलमा रहेको ट्रसलगायत निर्र्माण सामग्री बगाएको छ । एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २२ करोड पाँच लाख ७७ हजार ८९० रुपियाँमा उक्त पुल बनाउँदै छ । अब सो निर्माण कम्पनीले आगामी मङ्सिरअघि निर्माणको काम गर्न नसकिने बताएको छ । सङ्खुवासभामा बाढीका कारण मकालु गाउँपालिका–५, फोक्टेस्थित पाखुरीखोलामा ठुलो क्षति भएको छ । बाढीका कारण चरन क्षेत्रमा रहेका स्थानीय कृषक दलबहादुर गुरुङका २५० भेडामध्ये हालसम्म ३२ वटा भेडा मात्र जीवित अवस्थामा फेला परेका छन्, २१८ भेडा बेपत्ता छन् ।
बाढीपहिरोले पाँचथरका विभिन्न स्थानमा क्षति पु¥याएको छ । बाढीपहिरोले याङवाराक गाउँपालिकामा बढी क्षति भएको छ । बाढीले याङवाराक गाउँपालिका–१, लामीटारस्थित भित्री सडकखण्डमा रहेको लामीटार–चाम्लिङडाँडा जोड्ने सय मिटर लामो फलामे झोलुङ्गे पुल बगाएको छ । याङवाराक गाउँपालिका–२, दोभानस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत मेवाखोलामा निर्माणाधीन पक्की पुल पनि बगेको छ । मध्यपहाडी राजमार्गको रिजालभिरसहित विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । घरमाथिबाट आएको पहिरोका कारण याङवाराक गाउँपालिका–१ का मोहनलाल खवासको दुईतले घर र सोही स्थानका कबिर खवासको दुईतले घर पनि पहिरोले बगाएको छ । पहिरोसँगै आएको बाढीले गोठमा बाँधिएका तीन वटा गोरु मरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)