आज जनैपूर्णिमा
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । देशभरका वैदिक सनातन धर्मावलम्बीहरूले आज नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। पूर्णिमाको अवसरमा बिहानैदेखि नदी, ताल, तलाउ तथा पोखरीहरूमा गई स्नान गर्ने र गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ।
तागाधारीहरूले गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत र डोरो (रक्षासूत्र) धारण गर्नाले नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्पराको मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितद्वारा यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ। विधानशास्त्रअनुसार आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने नियम छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि नै कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो बस्ने गरिन्छ। यसरी व्रत बसेकाहरूले पूर्णिमाका दिन बिहानै विभिन्न पवित्र तीर्थस्थलमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने गर्दछन्। स्नानपश्चात जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण दिई वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने चलन छ। अरुन्धतीसहित सप्तर्षिहरूको पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणीसमेत भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)