सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
reportersnepal.com · Thu Sep 10 04:56:21 GMT 2026

सुदूरपश्चिम, २५ भदौ ।भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ ।
कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ । संस्थाका प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले प्राकृतिक विपद्का कारण देश शोकमग्न र विषम परिस्थितिमा रहेकाले निर्धारित कार्यक्रम स्थगित गरिएकामा पुनः आयोजना गर्न लागिएको जानकारी दिए । कार्यक्रममा उनले राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला (शिवशङ्करप्रसाद रिजाल), मूलासाग (सुरेन्द्र केसी) लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने बताए। कार्यक्रममा हास्यव्यङ्ग्य नाटक, प्रहसन, कविता, गीत–सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक तथा सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ । ‘सुदूरपश्चिम गाईजात्रा–२’ मनोरञ्जनमा मात्र सीमित नभई समाजमा देखिएका विकृति र विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आर्थिक संयोजक शुभेष पाठकले बताए । कार्यक्रममा लागूऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत विषयलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिने उनले जानकारी दिए । गाईजात्राको मुख्य प्रायोजकमा धनगढीस्थित माया मेट्रो हस्पिटल र प्रायोजकमा चैतन्य पाठशाला रहेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा टिकटबापत सङ्कलन हुने रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितलाई सहयोगस्वरुप प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)