जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैन : सभामुख अर्याल
nepalnews.com · Thu Sep 10 12:25:44 GMT 2026

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताएका छन्। दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको प्रथम महासभालाई ललितपुरमा सम्बोधन गर्दै सभामुख अर्यालले भदौ १० गते रसुवागढीमा आएको बाढीमा हजारौँ नागरिकले ज्यान गुमाएको, हजारौँ बेपत्ता भएको र हजारौँ घरबारविहीन भएको बताए।
विपत्तिका कारण अर्बौँ रुपैयाँको सम्पत्ति नष्ट हुनुका साथै ठूलो सङ्ख्यामा वन्यजन्तुमा समेत असर परेको उनले बताए। “यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन। विपत्तिमा ज्यान गुमाएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्,” उनले भने, “आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्छ। जलवायु न्यायका विषयमा ती समुदायले गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने समय आएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)