बेल्जियमलाई स्पेनको डिफेन्स तोड्ने चुनौती
barnanmedia.com · Fri Jul 10 01:48:40 GMT 2026
विश्वकप फुटबल–२०२६ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई स्पेनको जिद्धी डिफेन्सलाई तोड्ने ठुलो चुनौती हुने छ । युरो च्याम्पियन स्पेनले पछिल्लो खेलमा पोर्चुगलविरुद्ध गोल नबेहोरेपछि विश्वकपमा लगातार छ खेल ‘क्लिनसिट’ को कीर्तिमान बनाएको थियो । स्पेनले इटाली (१९९०) र स्विट्जरल्यान्ड (२००६–१०) लाई पछाडि पारेको हो । सन् २०२२ को विश्वकपमा मोरक्कोसँग गोलरहित बराबरीमा खेलेपछि स्पेनले गोल बेहोरेको छैन । यसै गरी स्पेनका गोलरक्षक उनाइ सिमनले विश्वकपमा धेरै समयसम्म गोल नबेहोरेको कीर्तिमान पनि लम्ब्याउनुभएको छ । सिमनले विश्वकपमा गोल नबेहोरेको ६०९ मिनेट भइसकेको छ । यस विश्वकपमा अस्ट्रियाविरुद्धको ३–० को जितमै सिमनले सन् १९९० मा इटालीका गोलरक्षक वेल्टर जेङ्गाले ५१७ मिनेटसम्म गोल नबेहोरेर बनाएको कीर्तिमान भङ्ग गर्नुभएको थियो ।
यस विश्वकपमा फ्रान्सको जस्तो आक्रामक स्वभाव स्पेनले देखाएको छैन तर उसले सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दै छ । जुन शैलीमा खेलेर स्पेन सन् २०१० मा विश्वकप च्याम्पियन बनेको थियो । किशोर उमेरका लामिने यमाल स्पेनी टिममा रहेका सबभन्दा उत्कृष्ट खेलाडी हुनुहुन्छ तर यस सत्रको अन्त्यमा चोटबाट निको भएपछि मात्र अमेरिका आइपुगेका यमालले अपेक्षा अनुरूप गोल गर्न सक्नुभएको छैन । यस विश्वकपमा यमालले पाँच खेलमा एक गोल मात्र गर्नुभएको छ । पहिलो खेलको ११ औँ मिनेटमै साउदी अरबविरुद्ध गोल गरेपछि यस प्रतियोगितामा यमालबाट गोलको वर्षा हुने अपेक्षा गरिएको थियो तर स्पेनका मिडफिल्डर डानी ओल्मोले गोल गर्न नसके पनि यमालको ‘ड्रिब्लिङ’ र उपस्थितिले स्पेनलाई गोल गर्ने धेरै अवसर मिलिरहेको बताउनुभयो । “यमालले बल प्राप्त गर्दा दुई या तीन जना विपक्षी खेलाडी उनको नजिक पुग्छन् । जसले हाम्रा लागि विपक्षीको क्षेत्रमा ठाउँ खुला हुने गर्दछ,” बार्सिलोनामा पनि यमालसँगै खेल्ने ओल्मोले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)