पूर्वसांसद तामाङलाई साढे पाँच वर्ष कैद
gorkhapatraonline.com · Fri Sep 11 00:59:38 GMT 2026

जिल्ला अदालत काठमाडौँले सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्यसमेत रहनुभएका इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद सजाय सुनाएको छ । न्यायाधीश कृतबहादुर बोहराको इजलासले भदौ ११ गते कसुर ठहरेकोमा बिहीबार सजाय निर्धारण गरेको हो । बोहराको इजलासले तामाङलाई बिगो अनुसारको दामासाही हुन आउने रकम जफत र ५० हजार रुपियाँ जरिवानाको समेत आदेश गरेको छ । सिभिल सहकारी ठगी प्रकरणको मुद्दामा कुल बिगो दाबी पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपियाँ रहेको थियो ।
जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार तामाङसहित १६ जनालाई कैद तथा जरिबानाको सजाय तोकिएको हो । अदालतले प्रतिवादी दुर्गाप्रसाद सङ्ग्रौलालाई छ महिना कैद र ५० हजार रुपियाँ जरिबाना तथा बिगो बराबरको दामासी भराउने आदेश गरेको छ । अदालतले १६ मध्ये १५ प्रतिवादीको हकमा मूल बिगोको दामासाही कायम हुने आदेश गरेको छ । अदालतले कसुर ठहर भएकामध्ये जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी र प्रवीणप्रसाद प्रधानलाई जनही छ महिना कैद तथा ५० हजार रुपियाँ जरिबानाको आदेश गरेको छ । यस्तै केशवलाल श्रेष्ठलाई पाँच वर्ष कैद र ४५ हजार रुपियाँ जरिबानाको आदेश अदालतले गरेको छ । प्रतिवादी रामकृष्ण पौडल र हरिहरप्रसाद लामिछानेलाई जनही एक/एक वर्ष कैद र १० हजार रुपियाँ जरिबाना हुने अदालतको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)