पिताप्रतिको श्रद्धा
gorkhapatraonline.com · Fri Sep 11 02:21:36 GMT 2026

आज कुसेऔँसी । कुश ग्रहण गर्ने वैदिक मन्त्र यस प्रकार छ– विरिन्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः । नुद सर्वाणि पापानि दर्भ स्वस्ति करो भव ।। अर्थात् सृष्टिको उषाकालमै ब्रह्माजीका साथ उत्पन्न भएको कुशले मानवका सबै पाप प्रक्षालित गरोेस्, सर्वकल्याण, सर्वसुख, सबैतिर समृद्धि छाओस् । हामी अहिले विपत्तिमा छौँ, धर्मकर्म गर्ने नदी ताल, स्नान गर्ने तल्लो तटीय क्षेत्रको मार खेपिरहेका छौँ, तथापि मातृऔँसीमा मातातीर्थ वा पितृऔँसी भनौँ कुसेऔँसीमा गोकर्ण वा अन्यान्य तीर्थक्षेत्रमा जान, मृत पितृहरूका नाममा पिण्ड, तर्पण गर्न लालायित छौँ र यसबाट हामीले हाम्रो वैदिक संस्कृतिले पितृऋण चुक्ता हुने भनेको छ । जन्मँदै मान्छेले तीन ऋण लिएर जन्मन्छ देव, पितृ र ऋषिऋण । पितृऋण चुक्ता गर्ने पावन दिन हो– भाद्रकृष्ण औँसी, कुसेऔँसी, विवाहित नारीहरूका लागि तिजको पूर्वसन्ध्या जहाँ पितृगृहमा गई बाबुको मुख हेरेर मिठा खानेकुरा, वस्त्रहरू आदि अर्पण गरेर तिजको निम्ता ग्रहण गर्ने बेला । मातृदेवो भव, पितृदेवो भव र अतिथिदेवो भव हाम्रो प्राचीन संस्कार र सभ्यता हो । चलेको संस्कृति जोगाउन हामीलाई अहिले हम्मे हम्मे परेको छ, मौलिकतामै आँच आएको भान हुँदै छ ।
पितृऔँसीको महत्वपूर्ण पक्ष हो, कुश ग्रहण ! कुशको स्पर्श, दर्शन आदि । यसै दिन घर घरमा नयाँ कुश राख्नाले पितृहरू प्रसन्न रहन्छन् । कुश एउटा असल वनस्पति हो, यसका वरिपरि ब्रह्मा, विष्णु र महेश तीन देवताले बास गर्ने गर्छन् । कुश अति नै चोखो वनस्पति हो । यो तुलसी झैँ महत्वपूर्ण छ । कुनै पनि कार्यमा कुश आवश्यक पर्छ । जन्मदेखि मृत्यु सबै संस्कारमा कुश नभई हुँदैन । गाई, गीता, गायत्री झैं कुशको उच्च स्थान रहेको छ । तिल, कुश र जौ कुनै पनि कार्य गर्नुअघि प्रतिज्ञा सङ्कल्पलाई पनि आवश्यक हुन्छ । पितृकार्यमा कुश अनिवार्य नै छ । असल गुरु पुरोहितहरूबाट कुश लिने कार्य यसै दिन गरिन्छ । भाद्रकृष्ण औँसीलाई कुशच्छेदनको औँसी भनिए पनि त्रयोदशीदेखि नै कुशच्छेदन कार्य गरिने चलन देखिन्छ र एकाबिहानैदेखि ब्राह्मणहरूले यजमानहरूको घर घरमा कुश पुर्याउने काम गर्ने गर्छन् । विवाहित छोरीबेटीका लागि कुसेऔँसी बढी महत्वपूर्णको दिन हो । आँसु बगाउँदै बाबुले कन्यादान दिई विवाहपछि छोरीलाई अर्काको घर पठाउने गर्छन् र छोरीहरूले तिनै आँसुको मूल्य चुकाउँदै स्नेहको उपहार लिएर कुसेऔँसीमा माइती आउने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)