राष्ट्रसङ्घप्रतिको अपेक्षा
gorkhapatraonline.com · Fri Sep 11 02:36:33 GMT 2026

विश्ववासीको आस्था र भरोसाको केन्द्र विश्व संस्था संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा सुरु भएको छ । बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानको अध्यक्षतामा सुरु भएको यस वर्षको महासभाको मुख्य नारा ‘विश्वासको पुनर्बहाली, रूपान्तरणको व्यवस्थापन : सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ तय गरिएको छ । युद्ध, जलवायु परिवर्तन र अविश्वासको तापले रापिएको विश्व राजनीति र खस्कँदो बहुपक्षीयताबिच सुरु यो महासभा परम्परागत भेटघाटको थलो मात्र बन्नु हुन्न । यो संस्था विश्ववासीले भोगिरहेका विश्वव्यापी सङ्कटहरूको समाधान पहिल्याउने थलो बन्नु पर्छ । दोस्रो विश्वयुद्धको समाप्तिसँगै यो संस्थाको जन्म भयो । विगत आठ दशकदेखि तेस्रो विश्वयुद्ध हुन नदिन यसले भूमिका निर्वाह गरेको छ । तथापि अहिले यसको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा भएको छ । विगत साढे चार वर्षदेखि रुस–युक्रेन युद्ध चलेको छ । छ महिनादेखिको अमेरिका–इरान युद्ध रोकिएको छैन । यसले पश्चिम एसियामा अस्थिरता र तनाव बढाएको छ । अफ्रिकाका विभिन्न मुलुकमा जारी गृहयुद्ध साथै विश्व तापमान वृद्धिले विश्वमै गहिरो सङ्कट र पीडा थपेको छ । महाशक्ति राष्ट्रहरूको स्वार्थ बाझिएको छ । ‘भिटो’ शक्तिको दुरुपयोग भएको छ । यसलाई रोक्न राष्ट्रसङ्घभित्र व्यापक संरचनात्मक सुधार, विशेष गरी सुरक्षा परिषद्को लोकतन्त्रीकरण र वित्तीय सङ्कटको समाधान अपरिहार्य भइसकेको छ । यस्तो अवस्थामा महासभाको सबैभन्दा ठुलो चुनौती भनेकै बहुपक्षीय कूटनीतिमाथि सदस्य राष्ट्रहरूको विश्वास पुनस्र्थापित गर्नुपर्ने रहेको छ ।
महासभाले यस पटक तत्काल प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने विषय सर्वव्यापी चुनौती थपेको जलवायु परिवर्तन नै हो । कार्बन उत्सर्जनमा नगण्य भूमिका भएका नेपाल जस्ता पर्वतीय र जोखिमपूर्ण मुलुकहरूले भोगिरहेका अनपेक्षित बाढीपहिरो, हिमाल र हिमनदी पग्लिने समस्या अब राजनीतिक वक्तव्यबाजीको विषय मात्र रहेन । यो मानव अस्तित्वकै सङ्कट बनिसकेको छ । यही सेप्टेम्बर २३ मा आयोजना हुने विशेष जलवायु सम्मेलनमा राष्ट्रसङ्घले अत्यधिक कार्बन उत्सर्जन गर्ने विकसित मुलुकलाई तिनको ऐतिहासिक जिम्मेवारी बोध गराउँदै ‘जलवायु न्याय’ र ‘क्षतिपूर्ति’ का लागि बाध्यकारी वातावरण निर्माण गर्नु पर्छ । यसका साथै सन् २०३० सम्ममा हासिल गरिसक्नुपर्ने दिगो विकास लक्ष्यतर्फको सुस्त प्रगतिलाई गति दिनु पर्छ । कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र युद्धका कारण सिर्जित महँगीले अति कम विकसित देशमा गरिबी र असमानता झन् बढाएको छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अहिलेको उथलपुथलपूर्ण समयमा विश्वव्यापी समस्या समाधान गर्ने प्रणालीले पहिलेभन्दा अझ बढी महत्व राख्ने प्रस्ट्याउनुभएको छ । विश्वमा द्वन्द्व, विभाजन र आणविक तनाव, गरिबी, असमानतासँगै जलवायु सङ्कट, कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिका कारण भविष्यमा निम्तिन सक्ने जोखिमप्रति थप सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । गुटेर्रेसका अनुसार विश्वमा विस्थापित मानिसको सङ्ख्या उच्चस्तरमा पुगेको छ भने मानवीय पीडा बढ्दै गएको र सहायता तथा विकासका लागि उपलब्ध स्रोत घट्दै गएको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संरचनालगायत बहुपक्षीय संस्थाले पनि वर्तमान चुनौती सामना गर्न कठिनाइ भोगिरहेका छन् । उद्घाटन सत्रमा अध्यक्ष रहमानले विश्वव्यापी विकासका उपलब्धि कमजोर र अस्थिर हुँदै गएको साथै जलवायु परिवर्तनका असर तीव्र हुँदै गइरहेकामा गम्भीर चासो व्यक्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)