मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित
khabarhub.com · Fri Sep 11 13:13:16 GMT 2026

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’ बाट सम्मानित गरिएको छ । नेपाली शिक्षा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको १६१औँ मोतीजयन्ती समारोहमा साहित्यकार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । समारोहमा कीर्तिशेष साहित्यकारहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण, युवा वर्ष मोती पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा समस्यापूर्ति कवि सम्मेलनलगायत कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै परिषद्ले चौधरीलाई मोती पुरस्कार प्रदान गरेको परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिइन् । उनका अनुसार युवा पुस्तामाझ साहित्यिक सृजनाको विकास र नेपाली साहित्यको प्रवर्द्धनमा चौधरीले पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले नेपाली साहित्यकारका सृजनाले देशको पहिचान अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)