तस्करीको मैदा लिलाम
abhiyandaily.com
विराटनगर । भन्सार छलेर नेपाल भित्र्याइएको २१ मेट्रिक टन मैदा विराटनगर भन्सार कार्यालयले १४ लाखमा लिलामी गरेको छ । पाँच जना अभियुक्तलाई २१ लाख ८६ हजार ५०० रुपैयाँ धरौटीमा रिहा गरेको छ । सुनसरीका विभिन्न मिलमा लाने प्रयोजनका लागि नेपाल भित्रिएको उक्त परिमाणको मैदा भन्सार गस्ती टोलीले सुनसरीको घुस्की सीमाक्षेत्रबाट पक्राउ गरेको थियो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाको इजलाशले पक्राउ परेका पाँच जना प्रतिवादीको हकमा २१ लाख ८६ हजार ५०० रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको हो । भन्सारले गरेको आदेश बराबरको धरौटी रकम बुझाएर पक्राउ परेका प्रतिवादीहरू रिहा भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले जानकारी दिए । भन्सारले पक्राउ परेका पाँच जनाको हकमा कसुरको मात्र हेरेर धरौटी खुलाएको छ ।
भारतको विहार राज्यस्थित नगरपतगञ्जको मोहम्मद रिजवान २ लाख ४४ हजार, सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ का जमसेद आलम ६ लाख ४४ हजार २५०, सोही ठाउँका नाजिर खान ४ लाख ३१ हजार ४ सय, असरफ अली ४ लाख ७० हजार र फिरोज मियाँ ३ लाख ९६ हजार ५ सय रुपैयाँ धरौटी बुझाएर रिहा भएको भन्सार कार्यालयले बताएको छ ।
भन्सार कार्यालयको गस्ती टोलीले दुईवटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको ५ सय ५ बोरा मैदासहित पाँच जनालाई मंगलवार राति पक्राउ गरेको थियो । पक्राउ परेका रिजवानले नेपाल–भारत सीमा क्षेत्रमा २४ सै घण्टा तैनाथ हुने सशस्त्र प्रहरीसँग सेटिङ मिलाएर तस्करीको मैदा उद्योगसम्म स्कर्टिङ गरेर पुर्याउने गरेको खुलेको छ ।
तस्करीको मैदा गन्तव्यसम्म पुर्याउन उनी चढेको डब्लूबी ०२ भी २३४० नम्बरको कारसहित मैदा बोकेको चारओटा गाडी भन्सारले नियन्त्रणलाई लिएको छ । भन्सारले फैसला नभएसम्म सवारीसाधन नियन्त्रणमा लिनेछ । भन्सारले १४ लाख रुपैयाँमा मैदा लिलाम भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)