यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
gorkhapatraonline.com · Wed May 27 07:23:42 GMT 2026

काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था र वितरण प्रणाली’ बारे भएको छलफलमा उहाँहरुले विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने जनाउँदै समयमा प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका हुन् ।
सांसद ज्ञानेन्द्र सिंह महताले प्रत्येक वर्ष सरकार वा सम्बन्धित निकायले मल अभावको समस्या मात्रै देखाउनेभन्दा पनि ठोस समस्या पहिचान गरी समाधानको विकल्प अपनाउनुपर्ने बताउनुभयो । सांसद वशुमाया तामाङले नेपाल कृषि प्रधान देश भए पनि मलको निम्ति सधैँभरि विदेशीसँग भर पर्नुको सट्टा मल अभावको दीर्घकालीन समाधानका निम्ति देशभित्रैको अग्र्यानिक मल उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्नुभयो । सांसद सन्तोष सुब्बाले अहिले पनि मलमा लगानी र व्यवस्थापनमा प्रश्न उडिरहेको उल्लेख गर्दै रासायनिक मलको विकल्पमा लाग्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)