विपतपछि बस्ती व्यवस्थापन
gorkhapatraonline.com · Sat Sep 12 02:52:28 GMT 2026

इन्डोनेसिया र श्रीलङ्कामा सुनामीपछिका पुनर्निर्माणका पाठ नेपालका लागि केही हदसम्म उपयोगी हुन सक्छन् तर हाम्रो भौगोलिक र सामाजिक परिवेश फरक छ । भोटेकोशी बाढीले नदी तटीय क्षेत्रमा घर मात्र होइन; जमिन नै बढारेको छ । यस्तो अवस्थामा बहुप्रकोप जोखिम क्षेत्रको पहिचान, उच्च जोखिमयुक्त क्षेत्रको सिमाना यकिन गरी त्यस्ता क्षेत्रमा भवन, सडक तथा अन्य पूर्वाधार निर्माण कार्य निरुत्साहित गर्नु जरुरी छ ।
इतिहासको लामो कालखण्डमा हामीले बहुप्रकोप झेल्दै आएका छौँ । हरेक विपत्को धुलो, हिलो र भग्नावशेषबाट उठ्दै आएका छौँ । उत्थानशील बन्नका लागि नयाँ पाठ सिक्ने क्रममा केही गल्तीबाट पुनः सिक्दै अघि पनि बढिरहेका छौँ । यस अवस्थामा हामी पछिल्लो समय भोटेकोशीको अस्वाभाविक र असामान्य विपत् झेल्न बाध्य भएका छौँ । विसं २०८३ भदौ १० गते बुधबार लाङटाङ लिरुङ शिखरको उत्तरी भागबाट खसेको ठुलो हिमखण्ड ल्हेन्देखोला तटमा बजारिँदा जम्मा भएको पानी, लेदो, बरफ र चट्टानको थुप्रो तीव्र गतिले बग्दा भोटेकोशी नदीमा विनाशकारी बाढी आयो । यो बाढीले रसुवा, नुवाकोट र धादिङमा अकल्पनीय मानवीय तथा भौतिक क्षति गर्यो । यो क्षतिबाट गोरखा र चितवन जिल्लासमेत प्रभावित भए । भोटेकोशी नदी तटका रसुवागढी नाकासँगै टिमुरे, स्याफ्रुबेँसी, खाल्टे, वेत्रावती, त्रिशूलीलगायतका बजार र बस्तीको ठुलो हिस्सा बाढीसँगै बढारियो । बाढीको परिभाषाभित्र अटाउनै नसक्ने अस्वाभाविक गति, गहिराइ र उचाइमा बग्दै वरिपरिका मानव बस्ती र संरचनालाई सोहोर्दै, पुर्दै र सिङ्गो मानव सभ्यतालाई नै अवाक् बनाउँदै भोटेकोशीले वितण्डा मच्चायो । यो विपत्ले निकै गहिरो चोट र घाउ लगाएको छ । साथै नेपालमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव र त्यसले भयावह रूपमा निम्त्याउने खतरा पनि उजागर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)