लोकतन्त्र र प्रेस स्वतन्त्रतामा कांग्रेस दृढ छ : उपसभापति श्रेष्ठ
gorkhapatraonline.com · Sat Sep 12 08:26:49 GMT 2026

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले लोकतन्त्र, वाक स्वतन्त्रता र मानवअधिकारको संरक्षणमा नेपाली कांग्रेस सधैँ अग्रपंक्तिमा रहने बताउनुभएको छ। नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको दशौँ जिल्ला अधिवेशन तथा १८औँ साधारणसभालाई शनिबार सदरमुकाम तम्घासमा उद्घाटन गर्नुहुँदै उपसभापति श्रेष्ठले विवाद र असहमतिलाई संवादमार्फत समाधान गर्नुपर्ने बताउनुभएको हो।
उहाँले विवादले सकारात्मक निष्कर्ष नदिने भन्दै लोकतन्त्रको मूल्य र मान्यताविपरीत कांग्रेस अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो। “वाक स्वतन्त्रताको नेपाली कांग्रेसले सधैँ वकालत गर्छ। मानवअधिकार र लोकतान्त्रिक मूल्यको संरक्षणमा कांग्रेसको धारणा दृढ छ,” उहाँले भन्नुभयो। श्रेष्ठले ठुला पदप्रति आकर्षित हुने तर जिम्मेवारी प्राप्त गरेपछि त्यसलाई व्यवहारमा लागू नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कुनै पनि काम ठूलो वा सानो नहुने भन्दै प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)