कोरला नाका, भन्सार र प्लान्ट क्वारेन्टाइन निरीक्षण
gorkhapatraonline.com · Sat Sep 12 09:52:38 GMT 2026

मुस्ताङ, भदौ २७ गते । नेपाल–चीन सीमास्थित कोरला नाकाबाट मालवस्तु आयात बढ्न थालेपछि मुस्ताङ भन्सार, प्लान्ट क्वारेन्टाइन कार्यालयसहित कोरला नाकाको निरीक्षण गरिएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी–केरुङ नाका तहसनहस भएपछि वैकल्पिक व्यापारिक मार्ग बनेको कोरला नाका, भन्सार कार्यालय र क्यारेन्टाइनको भौतिक अवस्था, जनशक्तिसहित अन्य आवश्यक पूर्वाधारको निरीक्षण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव गोपालप्रसाद अर्यालको नेतृत्वको टोली उपल्लो मुस्ताङ पुगेको हो ।
कोरला नाका, भन्सार कार्यालयमा अल्पकालीन, मध्यम र दीर्घकालीन पूर्वाधारका बारेमा छलफल भएको थियो । सहसचिव अर्याल प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भन्सार कार्यालयमा हाल थपिएको जनशक्तिले प्रर्याप्त भएपनि पूर्वाधारको कमी रहेकाले तत्काल सेवाप्रवाहलाई सहज बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले रसुवागढी–केरुङ नाका बन्द भएपछि त्यहाँ रोकिएका मालवस्तुसहित नयाँ कन्टेनरहरु कोरला नाकातर्फ आउन थालेको अवस्थामा अहिले भौतिक संरचना नहुँदा समस्या भएको बारेमा जानकारी गराउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)