सङ्घीयताका चुनौती अध्ययन गरिने
gorkhapatraonline.com · Sun Sep 13 01:04:12 GMT 2026

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सङ्घीयता कार्यान्वयनको अवस्था र चुनौती सम्बन्धमा अध्ययन गर्ने भएको छ । समितिका सदस्यसमेत रहेका राष्ट्रिय सभाका सदस्य श्रीकृष्ण अधिकारीको संयोजकत्वमा गठित उपसमितिमार्फत सङ्घीयता कार्यान्वयनको अवस्था र चुनौती सम्बन्धमा अध्ययन गर्ने छ ।
समिति सभापति जयन्तीदेवी राईले सङ्घीयता सबलीकरण सम्बन्धमा यसअघि नै सक्रिय रहेको अधिकारी संयोजक रहेको उपसमितिले आवश्यकताका आधारमा विज्ञहरूको परामर्श लिई अध्ययन गर्ने जानकारी दिनुभयो । उपसमितिमा समितिका पूर्वसभापति सोनम ग्याल्जन शेर्पा र किरणबाबु श्रेष्ठ सदस्य हुनुहुन्छ । समितिको ‘सङ्घीयता कार्यान्वयन एवं सबलीकरणसम्बन्धी’ छलफलपछि सो निर्णय भएको हो । समितिका सभापति राईले उपसमितिले अध्ययनपछि प्रतिवेदन पेस गर्ने र सो आधारमा सरकारलाई सुझाव र सिफारिस गरिने उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)