राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा २४ अर्ब खर्च, निर्माण सम्पन्न गर्न अझै पाचँ वर्ष लाग्ने
ajakoartha.com · Sun Sep 13 02:28:00 GMT 2026

काठमाडौं - राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजना अहिले पनि निर्माणाधिन अवस्थामा छ । आर्थिक वर्ष २०६२/ ६३ मा यो आयोजना सुरु गरिएको थियो । हालसम्म आयोजनामा २४ अर्ब रुपैंयाँ खर्च भैसकेको छ । तर आयोजना सम्पन्न हुन सकेको छैन । बजेट अभाव नरहे आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताइएको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरुप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ ।
उक्त आयोजनाका निर्देशक राजु आचार्यले बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने जानकारी दिएका छन् । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने यो अवधिमा पूर्वाधार निर्माणतर्फ करिब रु २४ अर्ब खर्च भइसकेको छ । मर्मत सम्भारको काम नियमित रुपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम पाँच वर्षमा सक्ने गरी अहिले काम भइरहेको छ । यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी ४२ हजार सात सय ६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)