जेनजी आन्दोलन : औपचारिकता माथिको नेपाल- परिणाम र लगानीमुखी मोड
onlinekhabar.com · Sun Sep 13 02:34:59 GMT 2026

आज नेपालले जेनजी शहीदहरूलाई सम्झिरहँदा केवल शोक र श्रद्धाञ्जलीले मात्र ती वीर शहीदका योगदानलाई सम्बोधन गर्न सक्दैन। पुरानो राजनीतिक संस्कार, जवाफदेहिताको अभाव र संस्थागत जडतामाथि गम्भीर प्रश्न बनेर उभिएको जेनजी आन्दोलनले लोकतान्त्रिक आकांक्षालाई संस्थागत सुधार र लगानीमुखी आर्थिक रूपान्तरणसँग जोड्नुपर्ने स्पष्ट सन्देश दिएको छ। त्यसैले भदौ २३ केवल शहीदहरूलाई सम्झने दिन मात्र होइन; उहाँहरूको बलिदानले नेपालको राजनीतिक वृत्तमा ल्याएको ऐतिहासिक मोडलाई आत्मसात् गर्दै नयाँ नेपालको सम्भावनामा आफ्नो जिम्मेवारी दायित्वबोध गर्ने दिन पनि हो।
दशकौंदेखि कायम रहेको दलीय सिन्डिकेटमा गहिरो संरचनात्मक दरार पैदा गरेको यस आन्दोलनलाई केवल राजनीतिक अवसरको रूपमा व्याख्या गरिनु युवाहरूको भावना र बलिदानको अपमान हुनेछ। जेनजी आन्दोलनले जनमानसमा एउटा आधारभूत परिवर्तन ल्यायो— अक्षमता, नातावाद, भ्रष्टाचार, राजनीतिक दण्डहीनता, अवसरको असमानता, कमजोर सार्वजनिक सेवा र परम्परागत राजनीतिक भाषणबाजीलाई अस्वीकार गर्ने चेतना। राजनीतिक अवज्ञा र नागरिक विद्रोहको यो एउटा लहरले सडकदेखि डिजिटल स्पेससम्म शहरी क्षेत्र र परम्परागत मतदाता समूहहरूलाई समेत प्रभावित गर्यो। त्यसैले जेनजी आन्दोलन केवल सरकार परिवर्तनको माग होइन। नेपालको राजनीतिक संस्कार, सत्ता सञ्चालनको शैली र राज्यसँग नागरिकको सम्बन्ध नै पुन: परिभाषित गर्ने स्पष्ट माग हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)