ट्रेलमाण्डुको ‘फ्लड रिलिफ १०के ट्रेल रन’ हुने
gorkhapatraonline.com · Sun Sep 13 09:46:58 GMT 2026
ट्रेलमाण्डुले ‘फ्लड रिलिफ १०के ट्रेल रन'को आयोजना गर्ने भएको छ । ट्रेलमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रसिला तामाङको संयोजकत्वमा हिमबाढीपीडितको सहयोगार्थ आगामी शनिबार सो ट्रेल रनको आयोजना हुन लागेको हो । संयोजक रसिलाले स्वेदशी र विदेशी गरी ३० भन्दा बढी अल्ट्रा रनरले फ्लड रिलिफ ट्रेल रनमा दर्ता गरिसकेको जानकारी दिनुभयो । स्वयम्भूबाट सुरु हुने सो दौड इचंगु, सेतो गुम्बा भएर पुनः इचंगु फर्किनेछ ।
रसिलाले सो दौडबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । उहाँ केही दिनअघि मात्र स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा दुई महिना प्रशिक्षण लिएर नेपाल फर्कनुभएको हो । प्रशिक्षणकै समयमा रसिला फ्रान्समा अल्ट्रा रेस प्रतियोगितामा सहभागी पनि हुनुभएको थियो । सोही रेसकै दौरान जुनिपर ट्रस्टसँगको सहकार्यमा रसिलाले एक लाख रुपियाँ बाढीपीडितका लागि सहयोग जुटाइसक्नुभएको छ । पछिल्ला दुई वर्षदेखि जुनिपर ट्रस्टसँग मिलेर रसिलाले जलवायु परिवर्तनमा पनि काम रहनुभएको छ । एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका रसिलाले सो ट्रस्टसँग मिलेर पाँच हजार रुख रोप्ने कार्य पनि गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)