निर्वाचन गराउन सुदृढ सुरक्षा व्यवस्थापन
abhiyandaily.com
सुदूरपश्चिम । चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्थापन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता भोला रावलले निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ पारिएको जानकारी दिए । ‘नेपाल प्रहरीका मात्रै मोबाइल गस्ती एक सय ७७ र २० अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘संवेदनशील मानिएका क्षेत्रमा हेलिकप्टर गस्तीसमेत गर्ने तयारी छ ।’
निर्वाचनलाई लक्षित गरी बनाइएको विशेष सुरक्षा योजनाअनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी सुरक्षा व्यवस्थापन गरिएको छ । भौगोलिक विकटतालाई ध्यान दिएर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ । यसका लागि सुर्खेतलाई केन्द्र मानेर हेलिकप्टरको समेत प्रबन्ध मिलाइएको छ ।
निर्वाचनको बेला सीमाबाट कुनै अवाञ्छित गतिविधि हुन नपाओस् भनेर निर्वाचनको ७२ घण्टा अघिदेखि सीमा नाकामा आवागमन बन्द गरिएको छ । अत्यावश्यक कामको हकमा भने सीमा नाकाको आवागमनमा रोक लगाइएको छैन । सीमामा सुरक्षा गस्ती परिचालन गरिएको छ । उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी, मतदाताका साथै निर्वाचन स्थल र वरिपरिको सुरक्षामा विशेष ध्यान दिइएको छ । निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पूरा भएको छ । मतदान स्थलमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीबाट शुक्रवारदेखि नै मतदान केन्द्र (बुथ) निर्माणको काम भइरहेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान केन्द्र निर्माणसँगसँगै आवश्यकताअनुसार सर्वदलीय/सर्वपक्षीय बैठक पनि भइरहेका बताए । रासस
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)