बाढीपीडितलाई आवास खर्च दिइने
gorkhapatraonline.com · Mon Sep 14 01:27:22 GMT 2026

सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक १५ हजार रुपियाँसम्म आवास तथा आवश्यक खर्च उपलब्ध गराउने भएको छ । मन्त्रीपरिषद्ले चार जनासम्मको परिवारलाई मासिक १५ हजार र चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रत्येक सदस्यबापत दुई हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो । आइतबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबारे सामाजिक सञ्जालमार्फत यस्तो निर्णय गरेको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार सरकारले उपलब्ध गराउने आर्थिक सहायता लिन नचाहने परिवारका लागि स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत सरकारले अघि सारेको छ । यसका लागि आवश्यक विवरण सङ्कलन गर्न सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको पनि मन्त्री तिमिल्सिनाले उल्लेख गर्नुभयो । बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानीको मूल्याङ्कन सम्पन्न गरिसके पनि विस्तृत आवश्यकता मूल्याङ्कन कार्य सरकारले जारी राखेको छ । प्राप्त विवरणका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइने सरकारको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)