राष्ट्रसङ्घमा जलवायु न्याय
gorkhapatraonline.com · Mon Sep 14 02:31:45 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुँदै छ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह २०८३ असोज ६ मा अमेरिका जाँदै हुनुहुन्छ । यसअघि परराष्ट्रमन्त्री शिशिर खनाललाई महासभामा नेपालका तर्फबाट नेतृत्व गर्ने गरी पठाउने निर्णय भए पनि १० भदौमा भोटेकोशी नदीमा आएको बाढीपछि जलवायु सङ्कटसम्बन्धी नेपालले भोगिरहेको पीडाका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने मूल ध्येयका साथ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । ८ असोजमा महासभालाई सम्बोधन गरेपछि १० असोजमा स्वदेश फर्कने उहाँको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहको यो भ्रमण खास गरी जलवायु न्यायका दृष्टिकोणले अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपालका लागि यो एउटा महत्वपूर्ण अवसर पनि हो । तसर्थ प्रधानमन्त्री शाहको यो भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी वातावरण संरक्षण नेपालको विदेश नीतिको प्राथमिक मुद्दा हो भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन सक्नु पर्छ । यस्तो महत्वपूर्ण मञ्चबाट नेपालले राष्ट्रसङ्घसहित अन्य अन्तर्राष्ट्रिय जगत्लाई नीति निर्माण तथा त्यससम्बन्धी सन्धि, सम्झौता र निर्णय कार्यान्वयन गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)