भिमादमा राष्ट्रिय परिचयपत्र स्टेशन जडान सुरु
gorkhapatraonline.com · Mon Sep 14 12:21:00 GMT 2026

तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बजारमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन सञ्चालनका लागि आवश्यक सामग्री जडानको काम सोमबारदेखि सुरु भएको छ । स्टेशन सञ्चालनमा आएपछि जिल्लाको पश्चिमी तथा दक्षिणी भेगका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम दमौली आउनुपर्ने बाध्यता नहुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद बजारमा दुई वटा विवरण दर्ता स्टेशन स्थापना गर्न लागेको हो । स्टेशन सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री जडानको काम सुरु भएसँगै सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार भिमादमा स्टेशन सञ्चालन भएपछि भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका नागरिकले स्थानीयस्तरबाटै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सक्नेछन् । “भिमादमा स्टेशन राख्ने काम अघि बढेको छ । आजदेखि आवश्यक सामग्री जडान सुरु भएको छ,” प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नुभयो, “यसबाट पश्चिमी तथा दक्षिणी क्षेत्रका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन दमौली आउनुपर्ने बाध्यता कम हुनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)