१४औँ सागमा नेपालबाट ५३२ खेलाडी र १५३ जना अधिकारी सहभागी हुने
ratopati.com · Sat Aug 29 01:19:31 GMT 2026
काठमाडौँ । १४औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालबाट ५ सय ३२ खेलाडी र १ सय ५३ अधिकारी सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पत्रकार सम्मेलन गर्दै एसएओसी बैठकका निर्णय र १४औँ सागको तयारीबारे जानकारी दिएको हो ।
प्रारम्भिक अनुमानअनुसार १४औँ सागमा ७ देशबाट ३ हजार १ सय ७२ खेलाडी र १ हजार १९ अधिकारीसहित ४ हजार १ सय ९१ जनाको सहभागिता रहनेछ । आयोजक पाकिस्तानबाट ६ सय ७० खेलाडी र २ सय २ अधिकारी तथा श्रीलंकाबाट ६ सय ७० खेलाडी र २ सय ५१ अधिकारी सहभागी हुने प्रारम्भिक अनुमान छ ।
त्यस्तै, बंगलादेशबाट ४ सय ८२ खेलाडी र १ सय २२ अधिकारी, भारतबाट ४ सय ७२ खेलाडी र २ सय २ अधिकारी, माल्दिभ्सबाट २ सय ६१ खेलाडी र ६८ अधिकारी तथा भुटानबाट ८५ खेलाडी र २१ अधिकारी सहभागी हुने एनओसीका महासचिव राजीव श्रेष्ठले जानकारी दिए । १४औं साग यही वर्षको चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने भएको छ ।
यही अगस्ट २३ र २४ मा पाकिस्तानको इस्लामाबादमा बसेको एसएओसी बैठकमा नेपाली टोलीको नेतृत्व एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए । टोलीमा एनओसी उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए । २८ खेलमा प्रतिस्पर्धा १४औँ सागमा कुल २८ खेल समावेश गरिने भएको छ । तीमध्ये २५ खेलमा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।
सागमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियड्र्स तथा स्नूकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, हक्की, जुडो, कबड्डी, कराते, रोइङ, रग्बी, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु समावेश छन् ।
बिलियड्र्स, हक्की, रग्बी र बीच भलिबलमा महिला स्पर्धा समावेश गरिएको छैन । कुल ३ सय ४६ पदक कार्यक्रमका लागि प्रतिस्पर्धा हुनेछ । त्यसमा ३ सय ४६ स्वर्ण, ३ सय ४६ रजत र ५ सय १५ कांस्य पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
तीन सहरमा खेल १४औँ साग पाकिस्तानका तीन सहर इस्लामाबाद, लाहोर र पेशावरमा आयोजना हुनेछ । इस्लामाबादमा १५ खेल, लाहोरमा १० खेल र पेशावरमा तीन खेल आयोजना गरिनेछ । इस्लामाबादमा एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, स्नूकर, फुटबल, कबड्डी, कराते, रोइङ, स्क्वास, टेबल टेनिस, टेनिस, ट्रायथलन, भारोत्तोलन, उसु र सुटिङ सञ्चालन हुनेछ ।
लाहोरमा बक्सिङ, क्रिकेट, फेन्सिङ, गल्फ, ह्यान्डबल, हक्की, रग्बी, पौडी, तेक्वान्दो र कुस्ती हुनेछ । त्यस्तै, पेशावरमा आर्चरी, जुडो र भलिबलका खेल आयोजना हुनेछन् । सागको उद्घाटन समारोह इस्लामाबादस्थित जिन्नाह रंगशालामा हुनेछ । रंगशालाको क्षमता झन्डै ५० हजार दर्शक रहेको छ ।
एनओसी अध्यक्षको संयोजकत्वमा समन्वय समिति एसएओसी बैठकले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा साग समन्वय समिति गठन गर्ने निर्णयसमेत गरेको छ । समितिमा श्रीलंका, बंगलादेश र भुटानका ओलम्पिक समितिका महासचिव तथा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का प्रतिनिधि रहनेछन् । दक्षिण एसियाली खेलकुदको इतिहासमै पहिलोपटक यस्तो समन्वय समिति गठन गर्न लागिएको एनओसीले जनाएको छ ।
समितिले पाकिस्तानको राष्ट्रिय ओलम्पिक समिति र पाकिस्तानी सरकारसँग समन्वय गर्दै निर्धारित समयमै प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।
समयमै साग आयोजना गर्ने पाकिस्तानी पक्षको प्रतिबद्धता एसएओसी प्रतिनिधिमण्डलले भ्रमणका क्रममा पाकिस्तानका प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री युवा कार्यक्रमका अध्यक्षसँग समेत भेटवार्ता गरेको थियो । भेटमा १४औँ साग निर्धारित समयमै आयोजना गर्ने विषयमा छलफल भएको थियो ।
पाकिस्तानी पक्षले समयसीमाभित्र प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको एनओसीले जनाएको छ । प्रतिनिधिमण्डलले इस्लामाबादमा सागका खेल सञ्चालन हुने विभिन्न खेलस्थलको निरीक्षणसमेत गरेको थियो ।
यसैबिच, दक्षिण एसियाली ओलम्पिक परिषद्को स्थायी सचिवालय नेपालमा स्थापना गर्ने नेपालको पुरानो प्रस्ताव यथावत् रहेको एनओसीले जनाएको छ । त्यस्तै, एसियाली खेलकुदअघि दक्षिण एसियाली खेलकुद आयोजना गर्नुपर्ने नेपालको प्रस्ताव पनि विचाराधीन रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)