एम्बापे, हालान्ड र मानेले खेल्ने समूह ‘आई’
gorkhapatraonline.com · Sat May 30 01:23:41 GMT 2026
विश्वकप फुटबल–२०२६ को समूह आईमा उपाधि दाबेदार फ्रान्स र दक्षिण अफ्रिकाको बलियो टिम सेनेगल परेका छन् । न्यु जर्सीको मेटलाइफ रङ्गशालामा पहिलो खेल सेनेगलविरुद्ध खेल्दा फ्रान्सले विश्वकप–२००२ को उद्घाटन खेलमा सो टिमविरुद्ध बेहोरेको स्तब्धकारी हारको सम्झना अवश्य गर्ने छ । एसियामा भएको सो विश्वकपमा नवप्रवेशी सेनेगलले उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई १–० ले पराजित गरेको थियो । पछिल्ला विश्वकप र युरो कप जितेर आएको जिनेदिन जिदानको फ्रान्स पहिलो चरणबाटै बिदा भयो । फ्रान्सलाई पतनको बाटोमा हुत्याउने सेनेगलको यात्रा क्वाटरफाइनलसम्म पुग्यो । सो विश्वकपदेखि अहिलेको विश्वकपसम्म सेनेगल विश्व फुटबलमा अझ बलियो बनिसकेको छ । यस विश्वकपमा इर्लिङ हालान्डको नर्वे र एसियाली राष्ट्र इराक पनि छन् ।
यसपालि च्याम्पियन बनेर फ्रान्स तीन तथा सोभन्दा बढी विश्वकप उपाधि जित्ने पाँचौँ राष्ट्र बन्न चाहन्छ । अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार÷चार तथा अर्जेन्टिनाले तीन पटक विश्वकपको उपाधि जितेका छन् । सन् १९९८ र २०१८ मा विश्वविजेता बन्ने फ्रान्सको यस पटक च्याम्पियन बन्ने सम्भावनालाई किलियन एम्बापे, ह्युगो इकिथिटके, ओसमान डेम्बेले, माइकल ओलिस जस्ता खेलाडीको उपस्थितिमा कसैले नकार्न सक्दैन । विश्वकपअघि भएका तयारी खेलमा फ्रान्सले ब्राजिललाई २–१ र कोलम्बियालाई ३–१ ले हराएर आफ्नो टिम लयमा रहेको पनि देखाइसकेको छ । फ्रान्सले टिमको प्रशिक्षकमा डिडियर डेस्चाँ हुनुहुन्छ । सन् २०१२ देखि यस टिमको हेरचाह गरेको प्रशिक्षक डेस्चाँले यस प्रतियोगितापछि टिम छोड्ने सङ्केत गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)