घरजग्गा व्यवसाय चलायमान बनाउन सहजीकरणको माग
baahrakhari.com · Sat May 30 16:18:44 GMT 2026

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा व्यवसायलाई चलायमान बनाउन माग गरेका छन् । संघको १३औँ साधारणसभा कार्यक्रममा अध्यक्ष दीपक कुँवरले यस्तो माग गरेका हुन् । अध्यक्ष कुँवरले सरकारी नीतिको अस्पष्टताका कारण ‘रियल इस्टेट’ व्यवसायी संकटमा परेको र यसले आमनागरिकको आवासमा पहुँचसमेत कठिन बनाएको बताए । “अस्पष्ट नीतिका कारण व्यवसायी आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्, जुन मुलुकको आर्थिक समृद्धिका लागि डरलाग्दो अवस्था हो”, उनले भने । अध्यक्ष कुँवरले व्यवस्थित बस्ती विकासका लागि ‘रियल इस्टेट’ कम्पनीलाई जग्गा हदबन्दी नलाग्ने व्यवस्था गर्न र निर्मित आवास तथा अपार्टमेन्ट बिक्रीमा रहेका कानुनी बाधा हटाउन माग गरे । कित्ताकाटमा हाल देखिएको अस्थायी सहजीकरणलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, ‘प्लानिङ’ अनुमति प्राप्त कम्पनीलाई नगर विकास समिति सरहको सुविधा दिई ‘ल्याण्ड पुलिङ’ र ‘हाउस पुलिङ’ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, एकीकृत सहरी विकास ऐन तथा भूमि संहिता जारी गर्नुपर्ने, मालपोत तथा नापी कार्यालयमा विद्युतीय प्रणाली लागू गरी पारदर्शिता र छरितो कार्यविधि सुनिश्चित गर्नुपर्ने संघको माग छ ।
#घर जग्गा
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)