आफन्त नभेटिँदा तनाव र अत्यास
nagariknews.nagariknetwork.com · Sat Aug 29 03:30:50 GMT 2026

सिन्धुपाल्चोक चौताराकी सोनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरीघरी आउने एम्बुलेन्सलाई नियाल्थिन्। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अँध्यारो मुख पार्थिन्। प्रहरीले माइकबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्थिन्। विवरणमा पनि आफन्तको नाम नपरेपछि अँध्यारो मुख बनाएर मेचमा बस्छिन्। उनले यसरी आफन्तको खोजी गर्न थालेको तीन दिन भयो। रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा बुधबार आएको बाढीपछि सम्पर्कविहीन भएका दाजु शिवराम केसीलाई खोज्न उनी ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल धाइरहेकी छन्। उनीसँगै तीन दिदी र अर्का दाइ पनि खोजीमा जुटिरहेका छन्।
शिवराम र उनका साथी मनीष खड्का बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन्। शिवरामले सामान बोक्ने कन्टेनर र मनीषले पर्यटक बस चलाउँथे। मनीष सम्पर्कमा नआएपछि उनकी पत्नी चिन्तित बनेको जानकारी सोेनियाले दिइन् । उनीहरूले विभिन्न समूह बनाएर अस्पतालमा ल्याइएका घाइतेको सूचीमा, सरकारको सूचीमा बेपत्ता आफन्तलाई खोजिरहेका छन्। चितवनमा भएका आफन्तलाई पनि नारायणी नदी आसपासमा खोज्न पठाएका छन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)