युद्धविरामको एक महिना बितिसक्दा पनि गाजामा रोकिएन इजरायली आक्रमण
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन। पछिल्लो दुई दिनमा भएका विभिन्न आक्रमणहरूमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन प्यालेस्टिनीहरूको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
अल अक्सा अस्पतालका अनुसार बुधबार मध्य गाजामा एकै परिवारका तीन जनाको हवाई आक्रमणमा मृत्यु भएको छ। त्यसअघि मङ्गलबार उत्तरी गाजाको घना बस्ती रहेको जबलिया शरणार्थी शिविरस्थित प्रहरी चौकीमा इजरायलले आक्रमण गरेको थियो। उक्त आक्रमणमा चौकीका प्रमुख तथा वरिष्ठ प्रहरी कमान्डर कर्नेल मोहम्मद मारवान सलेमसहित छ जना प्रहरी अधिकारी र एक महिलाको ज्यान गएको छ।