एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
nepalnews.com · Sat Jul 18 11:41:06 GMT 2026
काठमाडौँ। जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्। दुवै खेलाडी राष्ट्रिय च्याम्पियन हुन्।
उनीहरू १८ जुलाईदेखि १८ अगस्तसम्म सियोलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एकमहिने विशेष प्रशिक्षणमा सहभागी हुने अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाए। उनका अनुसार सन् १९८८ को सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा खेलाडी प्रशिक्षणमा सहभागी हुन लागेका हुन्।