कर्णालीका सडक ‘डेथ ट्रयाप’ : हरेक वर्ष १२० भन्दा बढीले गुमाउँछन् ज्यान
shilapatra.com · Sat Jul 18 13:33:22 GMT 2026

१८ असार २०८३ को बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडाबाट कर्णाली नदीमा खस्यो । उक्त गाडीमा सवार पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । अत्यधिक धमिलो र तीव्र बहावयुक्त कर्णालीको भंगालोमा खसेको उक्त गाडी र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–५ माझीगाउँका रामप्रसाद सुवेदीको शव अझै अज्ञात छ ।
घटनालगत्तै दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, म्याग्नेट, सोनार क्यामेरा तथा गोताखोरको सहायताले कर्णाली नदी बेसिनमा झण्डै दुई साता सघन खोजी गरे । सुरक्षा निकायले खोज तथा उद्धारमा उच्च प्रविधि प्रयोग गरिरहेको दाबी गरे पनि कर्णालीको धमिलो र उच्च बहावको भंगालोमा ती उपकरण कामयाबी बन्न सकेनन् । अन्ततः खोजी कार्यमा खटिएको सुरक्षा निकायको टोली रामप्रसाद र दुर्घटनाग्रस्त गाडीलाई कर्णाली नदीको धमिलो पानीमै छाडेर फर्कियो ।