भोटेकोशी बाढी : जुम्लाका २० जना आए सम्पर्कमा
nepalnews.com · Thu Aug 27 10:51:58 GMT 2026

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका २० जना सम्पर्कमा आएका छन्। रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि पातारासीका ७६ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएपछि खोजी कार्य गर्दा अहिलेसम्म २० जना सकुशल रहेको जानकारीसहित सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
रसुवामा कामका लागि पुगेका पालिकाभित्रका सबै वडाका स्थानीयको यकिन तथ्याङ्क संकलन गर्दा सबैभन्दा पातारासीको वडा नं ४, ५, ६ का स्थानीय रहेका भन्दै ५६ जना अझै सम्पर्कविहीन रहेका उनले बताए । “अहिलेसम्म गाउँपालिकाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए। बाढी आएपछि स्थानीयसँग सम्पर्क हुन सकेको छैन। अधिकांश जलविद्युत् आयोजनामा कार्यरत थिए”, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)