रविन्द्र ढाँटको ऐतिहासिक ‘रोड टू यूएफसी’ यात्रा
newsofnepal.com · Sat Aug 29 15:05:07 GMT 2026
चिसो तथ्याङ्क र भविष्यवाणीहरूले जहिले पनि मानिसको सीमा नाप्न खोज्छन्, तर जिद्दी र अथक संकल्प बोकेका योद्धाहरूले ती सबै गणितीय समीकरणहरूलाई लत्याएर आफ्नै रगत र पसिनाले नयाँ इतिहास लेख्छन् । नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) का गौरवशाली नक्षत्र, ‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्र ढाँट यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा ठूलो र निर्णायक मोडमा उभिएका छन् । अगस्ट २८ का दिन चीनको सांघाई इन्डोर स्टेडियममा हुने ‘रोड टू यूएफसी सिजन ५’ को बहुप्रतिक्षित ब्यान्टमवेट सेमिफाइनलमा जब रविन्द्र केज (रिङ) मा पाइला टेक्नेछन्, तब त्यहाँ केवल दुई जना लडाकुमात्र भिडिरहेका हुनेछन् । तर, खेलको पछाडि करोडौं नेपालीको अदृश्य आशा, राष्ट्रिय प्रतिष्ठा र एउटा असम्भवजस्तो लाग्ने सपनाको भारी बोकिएको हुनेछ ।
कागजमा हेर्दा रविन्द्रका प्रतिद्वन्द्वी, न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकको पक्षमा तथ्याङ्कहरूको भारी चाङ छ । ८–० को अपराजित व्यावसायिक रेकर्ड बोकेका मर्डोकलाई विश्व प्रसिद्ध ‘टापोलोजी’ कम्युनिटीले ७९ प्रतिशत समर्थन गर्दै विजेताको रूपमा उभ्याएको छ भने १० जितर १ हारको उत्कृष्ट प्रोफेसनल रेकर्ड भएका रविन्द्रलाई मात्र २१ प्रतिशत मत दिएर ‘अन्डरडग’ को रूपमा प्रस्तुत गरेको छ । तर, एमएमएजस्तो क्रुर र कलात्मक खेलमा कागजी अंक गणित वा भर्चुअल अनुमानहरूले कहिल्यै पनि केज भित्रको वास्तविक लडाइँलाई निर्धारण गर्न सक्दैनन् । यहाँ जित हारको फैसला रणनीति, समयको सही सदुपयोग, मानसिक दृढता र एउटा घातक प्रहारले गर्छ । मकाउमा फिलिपिन्सका किम्बर्ट एलिन्टो जोनलाई दोस्रो राउन्डमै टीकेओमार्फत धुलो चटाउँदै यो सेमिफाइनल यात्रा तय गरेका रविन्द्रले आफूलाई कमजोर ठान्नेहरूलाई आफ्नो तागतले पहिले नै गतिलो जवाफ दिइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)