जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य: मन्त्री चौधरी
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषिको विस्तार र कृषि क्षेत्रको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएकी छन्। नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भिक कार्यशालालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र जलवायु–स्मार्ट प्रविधिमार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारिन्। यी लक्ष्य हासिल गर्न चीन सरकार, चाइना इन्टरनेसनल डेभलपमेण्ट कोअपरेशन एजेन्सी (सिडका), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) तथा अन्य विकास साझेदारहरूको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि गर्ने, खाद्य सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य शृङ्खला विकास गर्ने सरकारको योजना रहेको मन्त्री चौधरीले उल्लेख गरिन्। हाल नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनका बढ्दो असर, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, तथा आधुनिक प्रविधि र बजारसम्मको सीमित पहुँचजस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उनले बताइन्। साथै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या देखिएकाले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)