पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
ratopati.com · Mon Jul 20 09:16:02 GMT 2026

मस्काे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग भेटवार्ता गरेका छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार दुई देशबिचको पछिल्लो उच्चस्तरीय कूटनीतिक भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा प्योङयाङले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन् ।
कुनै बहुपक्षीय कूटनीतिक कार्यक्रम वा राष्ट्रिय उत्सवको अवसरबिना नै भएको चोको रुस भ्रमणले उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित रुस भ्रमणको तयारीबारे अड्कलबाजी बढाएको छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार चो रुसी विदेशमन्त्री सर्गेई लाभरोभको निमन्त्रणामा शनिबार रुस पुगेकी हुन् । यद्यपि, भ्रमणको उद्देश्यबारे भने प्योङयाङले विस्तृत जानकारी दिएको छैन ।