लोकसेवा बन्द गरेर युवाहरुलाई विदेश पलायनको बाटो खोल्दै सरकार
ajakoartha.com · Tue Jul 21 06:06:00 GMT 2026

काठमाडौं - स्वदेशमै रोजगार सिर्जना गर्ने लक्ष्य लिएको दुई तिहाईको रास्वपाको सरकार नै युवाहरुलाई विदेश जान बाध्य पार्ने एक प्रमुख कारक बनेको छ । नेपालमा सबैभन्दा आकर्षणको क्षेत्र रहेको लोकसेवा एक वर्षको लागि बन्द गरेर सरकारले त्यस्तो परिस्थिति सिर्जना गरेको हो । उच्च शिक्षा लिएका अधिकांश युवाको पहिलो प्रयास हुन्छ– सुरक्षित पेसाको खोजी गर्ने र सकेसम्म देशमै बस्ने । यही क्रममा सरकारी जागिरका लागि बर्सेनि लाखौँ युवा लोकसेवा परीक्षाको तयारीमा लागेका हुन्छन् । तर, यो वर्ष भने अवकाशका पदमा सकेसम्म नयाँ पदपूर्तिको माग नगर्ने सरकारको योजनाले ती युवालाई धक्का पुगेको छ ।
मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेको छ । मन्त्रालयको संख्या घटाउनुका अतिरिक्त आवश्यक नदेखिएका दरबन्दी खारेज गर्ने नीति सरकारको छ । कति कर्मचारी आवश्यक पर्छन् भन्नेबारे सबै मन्त्रालयले ओएन्डएम गरेका छन् । अधिकांश मन्त्रालयको ओएन्डएम स्वीकृत भइसकेको छ भने पूर्वाधार विकास र परराष्ट्र मन्त्रालयको स्वीकृत हुन बाँकी छ । स्रोतका अनुसार मन्त्रालयहरूको ओएन्डएमले दुई हजारभन्दा बढी दरबन्दी कटौती गरेको छ । मन्त्रालयका अतिरिक्त निकाय, विभाग र कार्यालयहरूको ओएन्डएम बाँकी नै छ । तिनको ओएन्डएम हुँदा थप दरबन्दी कटौती हुने सम्भावना छ । नयाँ ओएन्डएमअनुसार स्वीकृत भएको दरबन्दीमा सम्बन्धित मन्त्रालय वा निकायले विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने र यसरी मिलान गर्दा बढी हुन जाने कर्मचारीलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी ती निकायको रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाई कर्मचारीलाई कामविहीन हुने अवस्था आउन नदिने निर्णयमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)