तापक्रम ४० डिग्री नाघेपछि जापानमा ‘क्रुर गर्मी’ को चेतावनी जारी
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ । जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मौसमविद्हरूले पहिलोपटक ‘क्रूर रूपमा तातो दिन’ भन्ने नयाँ शब्दावली प्रयोग गर्न थालेका छन्। देशका अधिकांश क्षेत्रमा भीषण गर्मी फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ को चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार मङ्गलबार देशका तीन केन्द्रीय सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो भने यस स्तरको गर्मीलाई जनाउन एजेन्सीले ‘कोकुशोबी’ अर्थात् ‘क्रूर रूपमा तातो दिन’ भन्ने शब्द प्रयोग गरेको जनाएको छ।
बुधबार पनि नागोया तथा टोकियो आसपासका पूर्वी क्षेत्रसहित अन्य स्थानमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा वा त्यसभन्दा माथि पुगेको थियो। लगातार बढ्दो गर्मीका कारण सर्वसाधारण, विशेषगरी ज्येष्ठ नागरिकलाई अत्यधिक सतर्कता अपनाउन र शरीरलाई चिसो राख्न एजेन्सीले आग्रह गरेको छ। टोकियोको उत्तरस्थित तोचिगी प्रान्तमा ८५ वर्षीय एक वृद्ध आफ्नै कृषि फार्मको हरितगृहभित्र अचेत अवस्थामा भेटिएको र पछि उनको मृत्यु भएको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)