अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
nepalviews.com · Thu Jul 23 02:09:32 GMT 2026

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्षित गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । “पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि यसबाट महत्वपूर्ण टेवा पुग्नेछ”, उनले भने । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)