निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
ratopati.com · Thu Jul 23 03:04:53 GMT 2026

नेपालमा राजतन्त्रको भविष्य अन्धकारमय छ र यसको अन्त्य अनिवार्य छ भन्ने तर्क र तथ्यमा जानुभन्दा पहिले राणाकालीन नेपालको राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था कस्तो थियो भन्ने कुरामा संक्षेपमा विचार गर्नु आवश्यक छ ।
एकातिर अंग्रेजी साम्राज्यवादको छत्रछायामा राज्यशक्तिमा आउने र अर्कोतिर आफ्ना समस्त प्रतिद्वन्द्वी सामन्ती घरानालाई सखाप पारी राजालाई समेत आफ्नो बसमा पार्ने राणा परिवार र उसका चाटुकारहरूले नेपालको अधिकांश जमिन आफ्नो कब्जामा पारे । नेपालका ठुलठुला भूमिपतिहरू विशेषगरी तराई इलाकामा देखिन आए । यसरी हामी देख्छौँ कि नेपालमा एक शक्तिशाली भूमिपति वर्गको उदय भयो । किसानलाई दण्ड कुण्ड गर्ने, शारीरिक दण्ड दिने र १५ दिनसम्म थुन्ने अधिकार पनि यस सामन्त वर्गलाई प्राप्त थियो । किसान समुदाय पनि चार वर्गीय स्तर– धनी, मध्यम, गरिब र सुकुमबासीमा द्रुतगतिले परिणत हुँदै थिए । गरिब तथा सुकुमबासी किसानहरू विशेषगरी कविला तथा अछुत सम्प्रदायका, एकातिर भूदासको रूपमा परिणत हुँदै थिए भने अर्कोतिर अंग्रेजी गोर्खा पल्टनमा र भारत बर्मा आदि देशमा नोकरीको खोजमा जान बाध्य भइरहेका थिए । स्पष्ट छ, जुन रफ्तारमा किसानहरू आफ्नो जमिनबाट वञ्चित भइरहेका थिए, त्यही रफ्तारमा उनीहरू आफ्नो देश छोड्न बाध्य पनि भइरहेका थिए । यसरी विदेश गई आफ्नो रगत–पसिना बगाई कमाएर ल्याएको धन आफ्नो गाउँ–ठाउँमा पुग्दा सामन्ती जाली, फटाहा, घुस्याहा कर्मचारीहरूको घरमा दाखिल गर्नुपर्दथ्यो । फलतः सामन्त र किसानबिच अन्तर्विरोध बढ्दै गइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)