राहत र पुनःस्थापनामा जोड देऊ
ajakoartha.com · Sun Aug 30 01:33:00 GMT 2026

काठमाडौं - अकल्पनीय रुपमा भोटेकोशीमा आएको बाढीले निम्त्याएको विपद्का कारण मृत्यु, बेपत्ता, घाइतेका विवरणले देश–विदेशमा रहेका नेपालीलाई शोकाकूल बनाएको छ । जसले प्रत्यक्ष रूपमा विपद् भोगे, परिवार र आफन्त गुमाए, घर तथा जीवन निर्वाहमा सहयोगी सबै सम्पत्तिमा क्षति पुगेको देखे– उनीहरूका निम्ति यो विपद्को पीडा बताइनसक्नुको छ । विपद्लाई प्रत्यक्ष नदेखेका, व्यक्तिगत रूपमा केही नगुमाएकाहरूसमेत देशले भोगेको ठूलो विपद् र क्षतिका प्रारम्भिक तथ्यांकबाट बिथोलिएका छन् । एकसाथ सयौंको मृत्यु, बेपत्ता, घाइते र सहर तथा गाउँहरू नै बगरमा परिणत भएको जनधनको क्षतिबाट देश स्वाभाविक लयमा फर्किन ठूलो आत्मविश्वास र हातेमालो अपरिहार्य हुन्छ । विपद्मा परेकालाई उदारतापूर्वक सहयोग गर्ने तत्परता नेपाली नागरिकले यसअघि पनि देखाउने गरेका छन् । यतिबेला पनि त्यस्तो कर्तव्यबोध प्रस्तुत गर्न जरुरी छ ।
अहिलेको प्राथमिकता भनेको विपद्मा परेकाहरुलाई कसरी सामान्य जीवनयापनतर्फ फर्काउने भन्ने नै हो । सरकारले सबै प्रकारका संयन्त्र प्रयोग गर्ने र दाताहरुको सहयोग पनि ल्याउन जरुरी छ । यस्तो महाविपत्तिकोबेला सबैको सहयोग अपरिहार्य हुन्छ । यतिबेला विपद्मा परेर सयौंको मृत्यु भइसकेको छ । यो यथार्थ हो । यसलाई सहनुको विकल्प छैन । त्यसैले यतिबेला केही काम मुख्य प्राथमिकतामा पर्नुपर्छ– शवको सनाखत, बेपत्ताको खोजी र यथाशक्य आफन्तसँगको पहुँच स्थापना, घाइतेको उपचार । साथसाथै, विपद्बाट जसोतसो बाँचेकाहरूको जीवन सुरक्षित बनाउन भने खाद्यान्नदेखि लत्ताकपडासमेतको खाँचो पर्छ । खाना, खानेपानी, कपडा तथा बसोबासको प्रबन्ध गर्नका लागि सहयोगी हात चाहिन्छन् । विपद् प्रभावित क्षेत्र भोटेकोशी–त्रिशूली नदी किनारको बस्ती, आयोजनास्थल, सरकारी तथा निजी कार्यालय, अस्पताल, विद्यालयजस्ता क्षेत्र हुन् । नदीभन्दा केही माथिल्लो बस्तीमा विपद्को प्रत्यक्ष असर छैन । यस्ता बस्तीका स्थानीयले पनि सहयोगमा उदारता देखाउनुपर्छ । यद्यपि, स्थानीयसँग हुने सीमित स्रोत साधन पर्याप्त हुँदैन । त्यसैले तीनै तहका सरकारले आवश्यक स्रोत साधन उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ । सबै तहका सरकार र सरकारी संयन्त्रले दाताहरुबाट प्राप्त राहत पीडितहरुले पाएकी पाएनन् भन्ने सुक्ष्मरुपले नियमन गर्न जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)